डा. कृष्ण प्रसाद पौडेलले सन् २००२ मा मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस (MBBS) पूरा गरी मणिपाल शिक्षण अस्पतालको बालरोग विभागमा मेडिकल अफिसरको रूपमा काम सुरु गर्नु भएको थियो, जसले उहाँलाई बालरोग चिकित्सा (Pediatrics) तर्फ आकर्षित गरायो। सन् २००४ मा उहाँ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत तनहुँ जिल्लाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको इन्चार्जका रूपमा मेडिकल अफिसरबाट सरकारी सेवामा प्रवेश गर्नुभयो।
सन् २००७ मा उहाँले त्रिभुवन विश्वविद्यालय, महाराजगञ्ज मेडिकल क्याम्पस (आईओएम) मा बालरोग विज्ञान (MD Pediatrics) मा रेजिडेन्सी सुरु गरी सन् २०१० मा पूरा गर्नुभयो। उहाँले कान्ति बाल अस्पतालमा मेडिकल अफिसर तथा कन्सल्ट्यान्ट पेडियाट्रिसियनका रूपमा विभिन्न जिम्मेवारीहरू सम्हाल्नुभएको थियो।
सन् २०१३ देखि उहाँले कान्ति बाल अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन, ईकाई प्रमुख, विभागीय प्रमुख तथा निर्देशकका साथै राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) अन्तर्गत कान्ति बाल अस्पतालमा बालरोग विभागको सह-प्राध्यापक (Associate Professor) को रूपमा सेवा प्रदान गर्नुभएको थियो।
डा. पौडेलले सन् २०१९ मा अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति (Australia Awards Scholarship) अन्तर्गत मेलबर्न विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर (Master of Public Health) पूरा गर्नुभएको थियो। उहाँले बाल स्वास्थ्य महाशाखाको निर्देशकका रूपमा राष्ट्रिय खोप कार्यक्रम, समुदायमा आधारित आईएमएनसीआई (CB-IMNCI) तथा बाल पोषण कार्यक्रमको नेतृत्व गर्नुभयो। कोभिड-१९ महामारीको समयमा उहाँले स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को नेतृत्व गर्नुभएको थियो।
साथै, उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखका रूपमा काम गर्नुभयो र केही समय स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो।